पश्चिम नेपालको ‘भर्जिन’ सुन्दरताः रारा तालदेखि शुक्लाफाँटसम्म

पश्चिम नेपालको ‘भर्जिन’ सुन्दरताः रारा तालदेखि शुक्लाफाँटसम्म

पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ ।

नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्रसिंगा एकैसाथ हेर्न सकिने स्थल शुक्लाफाट राष्टिय निकुन्ज यहाँ छन् ।

यसैलाई मध्यनजर गर्दै रारा-बर्दिया र शुक्लाफाँटलाई जोडेर वरिष्ठ पर्यटन व्यवसायी अमर शाहीले ‘वाइल्ड वेष्ट ट्रेङ्गल’ परिकल्पना गरेका छन् ।

रारा ताल
रारा तालको सौन्दर्यबाट मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा Û हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरताबाट लठ्ठिन्छन् ।

मुगु जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाईमा रहेको छ । जंगलको बीचमा रहेको रारा हेर्न आउने आन्तरिक पर्यटकहरु पछिल्ला दिनमा बढिरहेका छन् ।

तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यहाँबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै अन्यत्र नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ । रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिन्छ । हिउँदमा यहाँ हिउँले ढाकिएको हुन्छ भने बैशाख-जेठमा फूलैफूलले सजाएको हुन्छ । साउन भाद्र महिनामा भने हरियालीका कारण निकै मनमोहन देखिएको हुन्छ रारा ।

मानसरोवर जाने पर्यटकहरुको समेत गन्तब्यस्थलमा रारालाई जोड्न सकियो भने पश्चिम नेपालकै पर्यटन क्षेत्रको कायापलट हुन सक्ने भिजिट कर्णालीका प्रबन्ध निर्देशक राजु कार्की बताउँछन् । उनी भन्छन्, ‘सिमीकोटमा नियमित हवाई उडान नहुँदा समस्या हुन्छ, यसलाई अलि सुधार गर्ने हो भने राराको मात्र नभएर समग्र पश्चिमकै पर्यटनमा क्षेत्रमा बहार आउनेछ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज

तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो वर्दिया । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थान मानिन्छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको वीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको हो ।

निकुन्जको ७० प्रतिशन क्षेत्र साल र यसको सहायक प्रजातिका वनले ढाकिएको छ भने बाँकी ३० प्रतिशत घाँसे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चरा चुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने गर्दछ ।

सम्बन्धित शीर्षकहरु