लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो ।
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत सो क्षेत्रमा आकर्षित भएका हुन् ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने निजी व्यवसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्न सहज कार्यविघि कार्यान्वयनमा ल्याएपछि आर्कषणको मात्रा बढेको हो ।

पछिल्लो पटक टाइगर प्यालेस रिसोर्ट भैरहवा (पाँच तारे), होटल इच्छा बारा (चार तारे), कृष्णा होटल नेपालगञ्ज (चार तारे) होटल सञ्चालनमा आइसकेका छन् ।
यस्तै राजधानीकै नक्सालमा जे डब्ल्यू म्यारियट र ठमेलमा समेत नयाँ होटल खुल्ने तयारीमा रहेको छ । यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटल शेराटन निर्माणाधीन अवस्थामा छ । पर्यटकको आगमन र रोजगारीको अवसर वृद्धिका लागि नयाँ÷नयाँ होटल सञ्चालनमा आउनु नेपालको पर्यटन बजारका लागि सुखद देखिन्छ ।
विदेशमा सञ्चालनमा रहेका र नेपालमा समेत शाखा खोल्ने लक्ष्यका साथ विदेशी होटल सेवा प्रदायक समेत पछिल्लो दिनमा आर्कषित भएका छन् । अन्तर्राष्ट्रिय ‘चेन होटल’ को रुपमा त्यस्ता संस्था वा निकायले नेपालमा एक दर्जनको हाराहारीमा आफ्ना शाखा विस्तार गरेका छन् ।
लगानीमैत्री वातावरणका कारण होटलमा लगानी गर्ने वातावरण बढ्दै गएको भन्दै महासचिव शाहले आगामी केही वर्षभित्रै नेपाल संसारका आर्कषक गन्तव्यका रुपमा परिचित दाबी गरे ।
